काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न ११ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार (भदौ २९) बिहान करिब २ बजे प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१, तौलुङस्थित गरुड क्यासिनोमा चेकजाँच गरेको थियो । त्यसक्रममा नेपाली नागरिकसमेत जुवातास खेलिरहेको पाइएको थियो ।
पक्राउ पर्नेमा रामेछापका ३४ वर्षीय बिकी लामा, सोलुखुम्बुका ३९ वर्षीय नुवाङ शेर्पा, दोलखाका ३५ वर्षीय नारायण खत्रीलगायत छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ९ थान मोबाइल, नगद सटहीमा प्रयोग हुने विभिन्न क्वाइन र १० लाख ८५ हजार ६ सय रुपैयाँ बरामद गरिएको छ ।
उनीहरूमाथि जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३