सुनसरी । सुनसरी प्रहरीले तरकारी बोकेको ट्रकबाट २ हजार ५६६ किलो गाँजा बरामद गरेको छ । गाँजासहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चेकपोस्टमा ट्राफिक प्रहरीसहितको संयुक्त चेकजाँचका क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी पुष्पराज मल्लका अनुसार नियन्त्रणमा लिइएकामा ट्रक चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई रहेका छन् ।
प्रहरीका अनुसार बन्दाकोपी बोकेको उक्त ट्रक धनकुटाको हिलेबाट इनरुवासम्म आएको अनुसन्धानबाट खुलेको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिमाथि अनुसन्धान गर्दै गाँजा तस्करीको सञ्जालसम्म पुग्ने प्रयास भइरहेको एसपी मल्लले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०८३