काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेका एक युवक पेस्तोलसहित पक्राउ परेका छन् ।
कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका ३३ वर्षीय तुलसी ठाकुरको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरी उनलाई नियन्त्रणमा लिएको हो ।
सोमबार (असोज १९) दिउँसो करिब १ बजे जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको बीआर ३० वाई २८५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको छ ।
दुर्घटनापछि जाँच गर्ने क्रममा उनको साथबाट एक थान सिक्सर पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । पेस्तोल बरामद गरी ठाकुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०८३