१६ माघ, म्याग्दी । म्याग्दीको घार गाविस–१ मा पर्ने प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीका होटल चिनियाँ पर्यटकले भरिभराउ भएका छन् । पर्यटन व्यवसायका हिसाबले अफसिजन मानिने हिजोआज नयाँ वर्ष मनाउने चिनियाँ पर्यटकको चापसँगै घोडेपानीका होटल भरिभराउ भएका हुन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानीमा दैनिक २०० जनाको अनुपातमा चिनियाँ पर्यटक भित्रिएका स्थानीय होटल व्यवसायी टेकसर वुद्धुजा पुनले बताउनुभयो । पदमार्गको भ्रमणमा आएका पर्यटक हिउँ खेल्न पाउँदा दङ्ग परेका छन् ।
घोडेपानीमा रहेका २३ वटा सुविधासम्पन्न होटल चिनियाँ पर्यटकले खचाखच भरिएका छन् । एक सातासम्मका लागि होटल बुक भएका व्यवसायीले बताएका छन् । शनिबार बिहान २०० भन्दा बढी पर्यटक पुनहिल पुगेका थिए । हिउँ खेलेर रमाइलो गर्नका लागि कतिपय पर्यटकले घोडेपानी बसाइँ थपेका छन् । पोखरालगायतका सहरबाट आन्तरिक पर्यटक पनि हिउँ खेल्न घोडेपानी, पुनहिल पुगेका छन् । पुनहिल सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि प्रसिद्ध छ ।
प्रकाशित मिति: शनिबार, माघ १५, २०७३