काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहितको विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै श्रेष्ठले बाढीबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले विशेष नीति ल्याउनुपर्ने बताए।
उनले बाढीबाट क्षति भएका व्यावसायिक प्रयोजनका सवारीसाधन तथा ढुवानी साधन आयात गर्दा भन्सार महसुल, अन्तःशुल्क, सडक निर्माण दस्तुर, स्वच्छ पूर्वाधार तथा लगानी शुल्कलगायत सबै प्रकारका कर छुट दिनुपर्ने माग गरे।
त्यस्तै, बाढीमा नष्ट भएका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण पुनः आयात गर्दा भन्सार विन्दुमा लाग्ने सबै प्रकारका कर तथा महसुल छुट दिनुपर्ने उनको भनाइ छ।
‘बाढीपीडित व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा समेटी ब्याज अनुदान, बिमा प्रिमियम छुट तथा अन्य अनुदान उपलब्ध गराउनुपर्छ,’ उनले भने।
जीवनभर राज्यलाई कर तिरेका व्यवसायी विपद्का कारण सडकमा पुग्दा उनीहरूलाई पुनः व्यवसायमा फर्काउने जिम्मेवारी राज्यले लिनुपर्ने श्रेष्ठले बताए।
उनले राज्यको अर्थतन्त्र चलायमान बनाउन योगदान दिएका व्यवसायीहरू अहिले असुरक्षित महसुस गरिरहेको समेत बताए।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३