काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि करिब ६ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ योगदान गरेको जनाएको छ । त्यसैगरी, करिब एक करोड रुपैयाँ मूल्यबराबरका २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराएको छ ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्का बेला सबै एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्ने बताए ।
“नेपालले हरेक चुनौतीपूर्ण परिस्थितिमा अद्भुत धैर्यता र सहनशीलता देखाउँदै आएको छ । यस्ता कठिन समयमा हामी सबै एकजुट भएर सबैभन्दा बढी प्रभावित समुदायहरूको साथमा उभिनु महत्त्वपूर्ण हुन्छ,” उनले भने, “हामी जारी राहत प्रयासमा सहयोग पुर्याउन र प्रभावित परिवारलाई पुनर्स्थापनाको यात्रामा साथ दिन सक्ने आशा राख्दछौँ ।”
युनिलिभर नेपालले स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणमा केन्द्रित विभिन्न पहलमार्फत समुदायलाई सहयोग गर्दै आएको जनाएको छ ।
कम्पनीका अनुसार पछिल्लो सहयोग पनि विपद्बाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने र कठिन परिस्थितिको सामना गर्न सामूहिक प्रयासलाई बलियो बनाउने उद्देश्यले गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३