हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगाबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।
राक्सिराङको भावर हुँदै खरंगातर्फ आउँदै गरेको बा प्र ०१–०२५ च ०८७७ नम्बरको कारलाई ग२च ६१५ नम्बरको पिकअपले ‘स्कटिङ’ गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार कारको सिटमुनि लुकाएर ल्याइएको १३ पोका गाँजा बरामद भएको छ । स्कटिङ गर्दै आएको पिकअप गाडी भाग्न खोजेपछि प्रहरीले त्यसलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पक्राउ पर्नेमा कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देवनारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन् ।
“विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले १६२ किलो गाँजासहित दुईवटा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो,” प्रहरी नायब उपरीक्षक काफ्लेले भने ।
गाँजासहित पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३