काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि चितवन को–ई ग्रुपले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपले राष्ट्रिय विपद् व्यवस्थापन, खोज तथा उद्धार एवं राहत अभियानमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो ।
ग्रुपअन्तर्गतको मनकामना दर्शन प्रालिले १ करोड २५ लाख रुपैयाँ र चितवन मिल्क लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
चितवन, गोरखा तथा आसपासका क्षेत्रसँग ग्रुपको लामो समयदेखिको सामाजिक तथा व्यावसायिक सम्बन्ध रहेको जनाइएको छ । ती क्षेत्रमा विपद् आइपर्दा आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै प्रभावित नागरिकको साथमा उभिने प्रतिबद्धताअनुसार सहयोग गरिएको ग्रुपले जनाएको छ ।
ग्रुपका दिवंगत संस्थापक लक्ष्मणबाबु श्रेष्ठले व्यवसायको सफलता समुदायको सहयोग, विश्वास र सम्बन्धसँग जोडिएको हुने भएकाले कठिन परिस्थितिमा समुदायप्रति जिम्मेवार बन्नुपर्ने मान्यता राख्दै आएको ग्रुपले स्मरण गरेको छ ।
संस्थापक श्रेष्ठले स्थापना गरेको सामाजिक उत्तरदायित्वको भावनालाई निरन्तरता दिँदै विपद्को समयमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सहयोग गरिएको ग्रुपले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३