काठमाडौं । दाङका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले १० थान भरुवा बन्दुक बरामद गरेको छ ।
शुक्रबार बिहान ५ः३० बजेदेखि ८ बजेसम्म खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा बन्दुक बरामद गरेको हो ।
प्रहरीका अनुसार बबई गाउँपालिका–४ स्थित चितलगैरा सामुदायिक वनबाट चार थान, लमही नगरपालिका–३ स्थित जखेरा सामुदायिक वनबाट पाँच थान र बबई गाउँपालिका–२ स्थित सुवाखोरे सामुदायिक वनबाट एक थान भरुवा बन्दुक बरामद गरिएको हो ।
बरामद भएका बन्दुक कसले र के प्रयोजनका लागि जंगलमा लुकाएर राखेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३