खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली हानी एक शिक्षकको हत्या भएको छ ।
कालिका आधारभूत विद्यालयमा कार्यरत ३६ वर्षीय नरकुबिर खम्बु राईको बिहीबार राति गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार राईको देब्रे कोखमा भरुवा बन्दुकको गोली लागेको थियो । राति करिब ७ बजे खाना खाएको भाँडा माझ्न बाहिर निस्किएका बेला गोली चलेको आवाज आएको थियो ।
गोलीको आवाजपछि सोही विद्यालयकी शिक्षिका टिकामाया राई बाहिर निस्किँदा नरकुबिर भुइँमा लडिरहेको अवस्थामा भेटिएका थिए । उनको शरीरबाट रगत बगेको देखेपछि शिक्षिकाले स्थानीय तथा प्रहरीलाई खबर गरेकी थिइन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्यालयनजिकैबाट राईमाथि गोली प्रहार भएको देखिएको छ । तर, गोली कसले र किन चलायो भन्ने खुलेको छैन ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी सहायक निरीक्षक मानबहादुर कार्कीको कमान्डमा सात जनाको टोली घटनास्थलतर्फ गएको छ । प्रहरी चौकी नुमबाट पनि प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठको कमान्डमा चार जनाको टोली परिचालन गरिएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट करिब ६ घण्टाको पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी मैनालीले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३