काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (भदौ १८) आकस्मिक बाढीको जोखिम रहेको छ । केही सानाठूला नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार रसुवा र नुवाकोट हुँदै बहने भोटेकोसी, त्रिशूली तथा आसपासका साना खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । ती जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
“२०८३ भाद्र १० गते भोटेकोसी (रसुवा)मा आएको बाढीपश्चात् हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ,” महाशाखाले जनाएको छ ।
यस्तै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
यसैगरी सप्तकोसी, नारायणी, कर्णाली र महाकालीलगायत ठूला नदीमा समेत पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३