काठमाडौं । लगातार ६ कारोबार दिन घटेको सेयर बजारमा मंगलबार सुधार आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.२४ अंक बढेर २ हजार ५२२ अंकमा कायम भएको छ ।
तर कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार २ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ ।
कुल २७७ कम्पनीको कारोबार हुँदा १८२ कम्पनीको सेयर मूल्य बढेको, ८४ कम्पनीको घटेको र ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बाढीपछि अघिल्लो दिनसम्म दबाबमा रहेका समूहहरूमा पनि मंगलबार सुधार देखिएको छ । जलविद्युत् समूह १.०१ प्रतिशतले बढ्दै सबैभन्दा धेरै वृद्धि भएको छ ।
उत्पादन तथा प्रशोधन समूह भने १ प्रतिशत घटेको छ । उक्त समूहबाहेक सबै समूहगत सूचक सकारात्मक रहे ।
बैंकिङ ०.१८, विकास बैंक ०.११, फाइनान्स ०.२५, होटल तथा पर्यटन ०.६६, लगानी ०.६१, जीवन बीमा ०.८९, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.८७, अन्य ०.५४ तथा व्यापार समूह ०.१० प्रतिशत बढेका छन् ।
कम्पनीतर्फ माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ७.१५ प्रतिशतले बढेर सबैभन्दा धेरै वृद्धि भएको छ । इमर्जिङ नेपाल ४.८५, सान्जेन जलविद्युत् ३.८१, मेन्छियाम हाइड्रोपावर ३.६९ तथा मान्डु हाइड्रोपावर ३.६१ प्रतिशत बढेका छन् ।
यस्तै, उपकार लघुवित्तको मूल्य ८.४८ प्रतिशतले घटेर सबैभन्दा धेरै गिरावट आएको छ । घोराही सिमेन्ट ५.५३, सीवाईसी लघुवित्त ५.३९ तथा भगवती हाइड्रोपावर ५.२७ प्रतिशत घटेका छन् ।
मंगलबार कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, आँखुखोला जलविद्युत्, रिडी पावर, सानिमा मिडिल तमोर र चिलिमे हाइड्रोपावर अगाडि रहेका छन्।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३