काठमाडौं । न्यून गुणस्तरको रहेको जनाउँदै २ प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका २ औषधिको बिक्रीवितरणमा रोक लगाएको हो ।
मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्रीवितरणमा रोक लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।
औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्रीवितरकलाई मङ्गलबार निर्देशन दिइएको बताइएको छ ।
विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, असार २४, २०७७