लहान । सिरहाकी ८१ वर्षीया १ वृद्धा कोरोना जितेर घर फर्किएकी छिन् ।
सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा रहेकी सिरहा नगरपालिका-१९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना संक्रमणमुक्त भएर आइतबार घर फर्किएकी हुन् ।
उनीसँगै सिरहाका ६३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमणबाट मुक्त भई घर फर्किंदा खुसी भएकी उनले आत्मबल बलियो बनाएर स्वास्थ्यकर्मीको सुझावअनुसार आइसोलेसनमा बसेकाले कोरोनालाई जितेको बताइन् ।
घरका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि मण्डललाई पनि सिरहा क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।
दुई साता क्वारेन्टाइन बसाइँका क्रममा गरिएको पीसीआर परीक्षणमा उनमा पनि कोरोना संक्रमण देखिएपछि चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा राखिएको थियो।
करिब २० दिनमा २ पटक स्वाब संकलन गरी गरिएको कोरोना परीक्षणमा रिपोर्ट निगेटिभ आएपछि मण्डललाई घर पठाइएको आइसोलेसन इन्चार्ज अरविन्द मण्डलले जानकारी दिए।
उनीसँगै सिरहाको चन्द्र माध्यमिक विद्यालय ४९ जना र महेन्द्र गेनाई मेटरनिटी अस्पतालको आइसोलेसनबाट १४ जना गरी कुल ६३ जना उपचारपपछि निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
अब महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेसनमा २५ र चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा २४ जना गरी ४९ जना कोरोना संक्रमितको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रकाशित मिति: आइतबार, असार २१, २०७७