बुटवल । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसको महामारीको अवस्थामा अस्पतालहरुका नखट्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई कारवाही प्रक्रिया अघि वढाएको छ ।
पाल्पा अस्पताल तानसेनमा पदस्थापन भएका तर चैत २ गतेदेखि हालसम्म काममा नगएका जनस्वास्थ्य निरीक्षक अधिकृत छैटौं तहका छविराज गिरीलाई मन्त्रालयले स्पष्टीकरणसहित हाजिर हुन एकहप्ते अल्टिमेटम दिएको छ ।
कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि लागू गरिएको लकडाउनमा गायब हुने कर्मचारीविरुद्ध मन्त्रालयले एक्सन जाने रणनीति अनुसार उनीसँग स्पष्टीकरण माग गरेको हो ।
कोरोना महामारीको जोखिमका बेला लकडाउनका समयमा पनि अनिवार्य उपस्थित भई बिरामीलाई सेवा दिनुपर्नेमा विदासमेत स्वीकृत नगरी गिरी साढे तीन महिनासम्म कार्यालयमा हाजिर नभएको मन्त्रालयले जनाएको छ ।
तर अटेर गरेपछि प्रशासन तथा योजना महाशाखाले असार १८ गते गिरीका नाममा पत्र काटेर भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउनुनपर्ने कारण भए ७ दिनभित्र मन्त्रालयमा उपस्थित भई स्पष्टीकरण बुझाउन निर्देशन गरेको छ ।
अन्यथा स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ र प्रचलित कानून अनुसार गिरीमाथि कारवाही गरिने मन्त्रालयको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७