काठमाडौं । नेपालमा साेमबार थप ४ सय ७६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार १ सय १२ जना महिला र ३ सय ६४ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना जितेर १ सय २१ जना घर फर्किएका छन् । यससँगै कुल डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ ।
यसैगरी नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । पछिल्लोपटक थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
रौतहटका ३० वर्षीय पुरुषको ललितपुरको स्टार अस्पताल सानेपामा असार १३ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
श्वासप्रश्वासमा समस्याका कारण अस्पताल आएका उनको मृत्युपश्चात कोरोना पुष्टि भएको हो । उनी ३ महिनादेखि फोक्सोको समस्याबाट पीडित रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७