काठमाठाैं । नेपालमा गत २४ घण्टामा थप ५ सय ५४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय २० जना महिला र ४ सय ३४ जना पुरुषमा काेराेना देखिएकाे हाे ।
यससँगै नेपालमा काेराेना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ भने देशका ७७ वटै जिल्लामा काेराेना फैलिएकाे छ ।
यसअघि काेराेनामुक्त रहेकाे रसुवामा पनि ९ जनामा कोरोना पुष्टि भएको हो । रसुवाका संक्रमितमा ८ महिला र १ पुरुष छन् ।
यसैगरी नेपालमा पछिल्लाे २४ घन्टामा थप १ सय ३६ जना निकाे भएर घर फर्किएका छन् । उनीहरूमध्ये १८ महिला र १ सय १८ पुरुषले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन् ।
याेसँगै नेपालमा कोरोनालाई जित्नेकाे संख्या २ हजार ८ सय ३७ पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मन्त्रालयले भरतपुर अस्पतालमा उपचारका क्रममा १ जनाको मृत्यु भएको जानकारी दिएको हो ।
डा. गाैतमका अनुसार शनिबार बिहान कैलालीको गोदावरी नगरपालिका–७ घर भइ चितवनमा उपचार गराइरहेका ५० वर्षीय पुरुषको मृत्यु भएको हो।
फोक्सोको क्यान्सरबाट पीडित पुरुष भारतमा उपचार गराएर नेपाल आएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेकाेमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
उनको उपचारकै क्रममा शनिबार बिहान अस्पतालको आइसोलेसनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । उनको शव नेपाली सेनाको विशेष टोलीले व्यवस्थापनको तयारी गरिरहेको छ ।
यससँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या २८ पुगेकाे छ ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७