पाेखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचाररत १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
मृतक असार ८ गते आइसियुमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको आचार्यले जानकारी दिए ।
कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यसअघि पनि वालिङका १ पुरुषले कोरोना भाइरसको कारण ज्यान गुमाइसकेका छन् । योसँगै गण्डकीमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
यसैबीच, कोरोना संक्रमितको मृत्यु भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिएको छ ।
कोरोनाबाट स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु भएका कारण शव व्यवस्थापन गर्नु पर्ने भएकाले बिहीबारका लागि सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
उनका अनुसार शुक्रबारबाट भने सबै सेवा नियमित सञ्चालनमा आउने छन् ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७