काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । याे १ दिनमा थपिएकाे हालसम्मकै बढी संख्या हाे ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६ सय ७१ जनाको काेराेना रिपोर्ट पोजेटिभ आएको बताए ।
यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ७ हजार ८ सय ४८ पुगेकाे डा. गाैतमले बताए ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै निकाे हुनेको संख्या १ हजार १ सय ८६ पुगेको छ । जसमा १ हजार ७२ पुरुष १ सय १४ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । डा. गौतमले सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको बताए ।
उनको स्वास्थ्यमा समस्या आएपछि धनगढ़ीको नवजीवन अस्पतालमा उपचार गर्न गएका उनलाई जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि उनलाई प्रादेशिक अस्पताल सारिएको र उनको उपचारको क्रममा असार ३ गते साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको जानकारी दिए ।
यसैगरी कैलालीको लम्कीचुहा २ की ४२ वर्षीया महिला जेठ ३१ गते टाउकोमा चोट लागेर नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको र अपरेसन गर्नुभन्दा अगाडि पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण देखिएको जानकारी दिए ।
असार २ गते नमुना संकलन गरिएकोमा भेरी अस्पताल प्रयोगशालामा गरिएकाे परीक्षणमा असार ३ गते साँझ कोरोना पुष्टि भएको हो ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७