धनगढी । सुदूरपश्चिम प्रदेशमा बुधबार थप ३२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३१ र काठमाडौंमा गरिएको परीक्षणमा १ गरी थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
कैलालीका २१, डोटीका ५, कञ्चनपुर, बझाङ र अछामका २-२ जनामा कोरोना पुष्टि भएको जनाइएको छ । कैलालीमा बुधबार थपिएका २१ जना संक्रमितमध्ये १८ जना गौरीगंगा नगरपालिकामा रहेको पशुपति ‘क्वारेन्टाइन’मा रहेका छन् । २ जना मोहन्याल विश्व माविको क्वारेन्टाइनमा छन् ।
काठमाडौंमा पुष्टि भएका १ जनाको स्थानीय तह खुलेको छैन । डोटीका ५ जना संक्रमित दिपायल सिलगढी नगरपालिकाका हुन् ।
अछामकाे मेल्लेख गाउँपालिकाका २२ र २४ वर्षीय युवकमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।
यस्तै, बझाङको थलारा गाउँपालिकाकी १० वर्षीया बालिका र खप्तडछान्ना गाउँपालिकाका ७० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३ सय ७९ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, असार ३, २०७७