१३ पौष, काठमाडौँ । कान्ति लोकपथ सडक विस्तार एवम् स्तरोन्नतिको काम ट्र्याक खुलेको ६० वर्षपछि सुरु भएको छ । विसं २०१३ मा ट्र्याक खुलेको एक लेनको यो सडकमा २०१६ सालदेखि सवारी सञ्चालन सुरु भएको थियो । ललितपुर र मकवानपुरको सीमास्थित बागमती नदीमा पुल नभएको र कच्ची धुले सडक भएकाले वर्षमा नौ महिनाजति मात्र यो सडकमा सवारी चल्थ्यो । नौ महिना पनि नियमित सवारी नचल्ने गरेको स्थानीयवासीको भनाइ छ । नेपाली सेनाले निर्माण गरेको यो राजमार्ग ६० वर्षसम्म ओझेलमा प¥यो । विसं २०५९ मा काठमाडौँ, हेटौँडा जोड्ने छोटो दुरीको यो मार्गलाई वैकल्पिक रुपमा विकास गर्न कोरियाली सरकारको सहयोगमा विस्तृत परियोजना प्रस्ताव तयार गरिएको थियो ।
ललितपुरको चापागाउँ दोबाटोबाट मकवानपुरको हेटौँडास्थित बुद्धचोकसम्म ९० किमी दुरीको यो मार्गलाई सरकारले आव २०६५÷६६ देखि कान्ति लोकपथ सडक योजना स्थापना गरी स्तरोन्नति सुरु गरेको हो । सरकारको प्राथमिकता प्राप्त योजनाका रुपमा सुरु भएको यो सडक विस्तार एवम् स्तरोन्नतिको अवलोकनका लागि सोमबार मन्त्री र सांसदको टोलीले अनुगमन गरेका छन् । अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, समिति सभापति रवीन्द्र अधिकारी, समितिका सांसद, मन्त्रालयका सचिव धनबहादुर तामाङ र सडक विभाग एवम् योजनाका अधिकारी सम्मिलित समूहको सहभागिता थियो । अनुगमनपछि मन्त्री लेखकले आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको कान्ति लोकपथ निर्माणमा रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७३