काठमाडौँ । कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम यो साता रोकिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले विदेशमा कोही पनि नेपालीको मृत्यु भएन ।
एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार डेनमार्क, नेदरल्यान्डस्, अस्ट्रेलिया, जापान, म्यानमार, पोल्याणन्ड, रुस, न्युजिल्यान्ड, क्यानडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका तीनजना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो ।
संघका अनुसार कोरोना संक्रमणले हालसम्म १२७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् । नेपालमा ज्यान गुमाउने संख्या १९ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण १४६ जना नेपालीले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसका कारण बेलायत, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७