काठमाडाैं । वाग्मती प्रदेशमा शुक्रबार १ दिनमै ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १ सय ८४ पुगेको छ ।
प्रदेशको धादिङमा २९, चितवनमा ८, नुवाकोट र काठमाडौँमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाइँले जानकारी दिए ।
उनका अनुसार प्रदेशका कोरोना संक्रमितमध्ये ४३ उपचारपछि घर फर्किएका छन् । प्रदेशमा देशको कूल संक्रमणको करिब ४ प्रतिशत (३।६५) संक्रमण छ ।
प्रदेशमा कोरोनाका कारण ४ जनाले ज्यान गुमाउनुपरेको छ । हालसम्म नेपालमा ५ हजार ६२ जनामा कोरोना संक्रमण देखिएको छ भने यस भाइरसका कारण १६ जनाको मृत्यु भएको छ ।
त्यसैगरी गण्डकी प्रदेशका पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा गरी आज थप ५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ बजे विज्ञप्ति जारी गरी पर्वतमा ४ र नवलपरासीमा १ नयाँ संक्रमित थपिएको जनाएको छ । प्रदेशमा हालसम्म संक्रमितको संख्या १ सय ९७ पुगेको जनाएको छ ।
पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका १ जना ६ वर्षीय बालक र वर्ष १७ की १ महिलामा संक्रमण पुष्टि भएको छ ।
पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १७ का १ पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १६ का अर्का १ पुरुषमा संक्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार नवलपरासीको मध्यविन्दु नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५ का १ पुरुषमा समेत संक्रमण पुष्टि भएपछि रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
हालसम्म गण्डकी प्रदेशका हिमालपारिका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४३, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा ५, तनहुँमा ४, म्याग्दीमा ३ र लमजुङमा १ संक्रमित छन् । कूल संक्रमितमध्ये ९ महिला छन् ।
गण्डकी प्रदेशमा गत चैत १५ गते बाग्लुङकी १९ वर्षीया किशोरीमा पहिलोपटक संक्रमण फेला परेको थियो ।
हालसम्म संक्रमितमध्ये ११ उपचारपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । संक्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ ।
हालसम्म प्रदेशमा ६ हजार ८ सय ५२ को पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमुना संकलन (स्वाब) लिइएकामा ५ हजार ३४ को नतिजा नेगेटिभ आएको छ ।
स्वाब लिइएकाहरुमध्ये अझै १ हजार ६ सय २६ को नतिजा आउन बाँकी रहेको निर्देशनालय अन्तर्गतको प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए ।
प्रयोगशालाबाट नजिता आउन ढिलाइ भएपछि प्रदेश सरकारले प्रयोगशालाको क्षमता वृद्धि गर्न थप पिसिआर मेसिन खरिदको प्रक्रिया अघि बढाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७