चितवन । चितवन मेडिकल कलेजमा उपचाररत १ बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्यु भएको भन्दै बिहीबार तोफोड गरेका छन् । उनीहरुले अस्पतालको सघन उचारकक्ष बाहिर तोडफोड गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार तोडफोड गर्ने ३ जनालाई पक्राउ गरी साँझ छाडिएको छ । उनीहरुले ढुङ्गा प्रहार गर्दा सघन उपचार कक्षको बाहिरको सिसा फुटेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार भरतपुर महानगरपालिका–२२ पदमपोखरीका १७ वर्षीय युवक आशीष सुनारको एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचार भइरहेको छ । कलेजका अध्यक्ष प्रा डा हरिशचन्द्र न्यौपानेका अनुसार ती युवकको जटिल प्रकृतिको एपेन्डिक्स भएको हो ।
हाल उनको सघन उपचारकक्षमा उपचार भइरहेको भन्दै बुझ्दै नबुझी मृत्यु भएको भनेर तोडफोडमा उत्रिएको उनले बताए । कोही कसैको लहैलहैमा हुने यस्ता समस्याले गर्दा अस्पतालमा कार्यरत चिकित्सकको मनोवल घट्ने उनको भनाइ छ ।
चिकित्सकले जानीजानी लापरबाही नगर्ने भन्दै उनले समस्या परे जो कोहीले कानुनको बाटो रोज्नुपर्ने बताए । उनले यो काेरोना संक्रमणको समयमा ज्यान जोखिममा राखेर काम गर्ने चिकित्सकको मनोबल गिर्न नदिन पनि उनले आग्रह गरे । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७