कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ ।
स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा काेरोना भाइरस संक्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो ।
कोरोना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति र स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यचौकीका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए ।
कोराना भाइरसको परीक्षणका लागि स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलगायतको स्वाब संकलन भइरहेको छ ।
सङ्कलित स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाउँछौँ , उनले भने, नतिजा नआउँदासम्मका लागि स्वास्थ्यचौकीका सेवा बन्द हुन्छन् । सोमबार पुर्नवासकै स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार भीमदत्त नगरपालिकाका तीन पुरुष र दुई महिला, शुक्लाफाँटाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कञ्चनपुरमा संक्रमितको सङ्ख्या ३२ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७