चितवन । चितवन मेडिकल कलेजले सञ्चालन तयारी अवस्थामा रहेको आफ्नो पिसिआर परीक्षण प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले कोरोना भाइरसको जोखिम हुन नदिन परीक्षणका लागि जनशक्ति सहित प्रयोगशाला तयारी अवस्थामा रहेको हुँदा सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जानकारी दिए । उनले यससम्बन्धी पत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पठाएको बताए ।
उनका अनुसार कलेजमा प्रयोगशाला सञ्चालनका लागि सात अनुभवी जनशक्ति छन्। ती जनशक्तिले भरतपुर कोभिड–१९ प्रयोगशालामा समेत सुरुआती चरणमा काम गरेका थिए । अहिले पनि कलेजकै २ जनशक्ति प्रयोगशालामा कार्यरत छन् ।
कलेजले अनुमति पाएमा परीक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला सञ्चालन गर्न उपयुक्त हुने आफ्नो सुझाव रहेको उनले बताए । यस प्रयोगशालामा दैनिक २ सयभन्दा बढी नमुनाको परीक्षण गर्न सकिने उनको भनाइ छ ।
त्यहाँ लाग्ने खर्च सरकारी तवरबाट गरेर काम गरेमा अहिले पालो कुरेर राखिएका नमुनाको समयमा परीक्षण गर्न सकिने देखिएको छ । भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापनामा उनी सक्रिय भूमिका थियो ।
उनले तत्कालीन समयमा पनि मेडिकल कलेजमा प्रयोगशालाका लागि ठाउँ दिन तयार रहेका जनाएका थिए ।
हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा चितवन, मकवानपुर, नवलपुर र कपिलवस्तुका नमुना परीक्षण भइरहेको छ। यस मेडिकल कलेजले निजी क्षेत्रबाट कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
कोभिड क्लिनिकमा दैनिक ५/६ बिरामी हेर्दै आएको जनाएको छ। यहाँ सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २० शय्यालगायतका उपकरण र जनशक्ति चितवन मेडिकल कलेजले सहयोग गरेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७