काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ ।
अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेकाे भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो ।
जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा डा दासले जानकारी दिए ।
यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो । अध्ययन संस्थानका प्रा दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ।
करिब २ घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनुका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्रा गैरेले जानकारी दिए ।
सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्यांकनका लागि पहल गरिनेबारे कुराकानी भयो , प्रा गैरेले भने ।
उक्त खोपको परियोजना स्वीकृत भएमा ५ लाख अमेरिकी डलर ट्रायल फन्ड प्राप्त हुने बताइएको छ । प्रा डा दासले २ महिनादेखि कोरोना भाइरसविरुद्ध केही एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप (औषधि) निर्माण गरेको जिकिर गरेको ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७