काठमाडाैं । ३ दिनमै निको भएकी मकवानपुरकी २५ वर्षीया गर्भवतीले कोरोना भाइरसको संक्रमण जित्न आत्मबल बलियो बनाउनुपर्ने बताएकी छिन् ।
५ महिनाको गर्भ रहेकी उनलाई जेठ १५ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी उनी जेठ १८ गते नै डिस्चार्ज भएकी हुन् ।
अस्पतालबाट घर फर्कने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन्, ‘कोरोना संक्रमण हुनु भनेको सामान्य रुघाखोकी लाग्नु हो भन्ने सोचेर आत्मबल बलियो बनाउनुस् निको हुन्छ ।’
आफूलाई कोरोना संक्रमण भएको महसुस नै नभएको बताउँदै उनले आफूलाई कसरी भयो भन्ने कुराचाहिँ अन्योल रहेको प्रतिक्रिया दिइन् ।
आफूहरू लकडाउनका बेला र त्यसअघि पनि खासै कतै नगएको भए पनि कोरोना संक्रमण देखिएको उनको भनाइ छ। तर पनि त्यसलाई जित्न सफल भएको उनले बताइन्।
कोरोना संक्रमणले मान्छे मरिहाल्छ भन्ने नभएको उनको अनुभव छ । उनले भनिन्, ‘कोरोना लाग्नेबित्तिकै मान्छे मरिहाल्ने भन्ने होइन । म गर्भवती हुँदा त ३-४ दिनमै निको भएँ । तपाईंहरू पनि आत्तिनु पर्दैन, तातोपानी खाने र आत्मविश्वास बढाए सञ्चो भइन्छ ।’
कोरोना संक्रमण देखिए पनि आत्मबल बढाएर चिकित्सकको सल्लाहबमोजिमका क्रियाकलाप गरे यसलाई जित्न सहज हुने उनले बताइन् ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७