काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका २ जना कोरोना संक्रमितका पछिल्लो २ पटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।
नगरपालिकाको वडा नं ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा नं ७ शिवचोकका ३५ वर्षीय पुरुषमा पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेशन कक्षमा राखी उपचार गरिएको थियो ।
पछिल्लो दुईपटकको सो परीक्षणका क्रममा नेगेटिभ आएपछि दुवैलाई घर पठाइएकामा हाल दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
किसिगालका ५७ वर्षीय पुरुष भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत रहेको र शिवचोकका ३५ वर्षीय पुरुष ग्रान्डी अस्पतालमा कार्यरत रहेको नगरपालिकाले जनाएको छ ।
दुवै संक्रमितमा नेगेटिभ प्रतिवेदन प्राप्त भएको खबरपछि नगरपालिकाको जनजीवन सामान्य बनेको छ ।
विषम परिस्थितिमा घरमै बस्न, पटक पटक साबुन पानीले हात धुन र अत्यावश्यक कामका लागि बाहिर निस्कनै परेमा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न नगरपालिकाले आह्वान गरेको छ ।
दुवैजनाका सम्पर्कमा आएका मानिसमा गरिएको परीक्षणमा कोभिड–१९ नभेटिएको पनि उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७