काठमाडाैं । कोरोनाको संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् ।
यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब संकलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राति आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसियू ब्लकमा भर्ना गरिएको थियो।
अस्पतालमा १४ र १५ गते पुनः गरिएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएपछि उनलाई बिहीबार साँझ डिस्चार्ज गरिएको छ । हाल उनी च्यामासिंस्थित घर फर्किसकेकी छिन् ।
वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १६८ जनाको पिसिआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको बस्ती यसअघि नै सिल हटाइसकिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७