डडेल्धुरा । डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो ।
डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
परीक्षणपछि उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए । तर पछि उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
संक्रमितसँग सम्पर्कमा आएका कर्मचारी, सञ्चारकर्मी, होटल सञ्चालक तथा डडेल्धुरा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी १ सय ५० जनाको स्वाब परीक्षण गरिएको छ ।
२० जनाको आरडिटी गरिएको र चिकित्सकसहित ७ जना अन्य आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।
जिल्लामा भारतबाट फर्किएका नागरिकलाई सबै स्थानीय तहले क्वारेन्टिनमा राखिरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।
डडेल्धुरामा सात स्थानीय तहका ३० हजार सङ्ख्यामा डडेल्धुराबाट भारत गएको तथ्याङ्क छ। बिहीबार २८८ जनालाई क्वारेन्टिनबाट घर पठाइएको छ ।
शनिबार ६२६ जना जिल्लाका ७ स्थानीय तहको क्वारेन्टाइनमा रहेको प्रजिअ पन्तले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७