काठमाडाैं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी मकवानपुरकी कोरोना संक्रमित महिलालाई शिक्षण अस्पताल टिचिङको आइसोलेसनमा सारिएको छ ।
मनमोहन कार्डियोथोरासिकमा उपचाररत ती महिलामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित बिरामीको उपचार गर्न बनाइएको आइसोलेसन कक्षमा सारेर उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका कोभिड-१९ संयोजक डा. सन्तकुमार दासले जानकारी दिए ।
डा दासका अनुसार मुटुमा समस्या आएपछि उनी मनमोहन अस्पतालमा यही ४ गते भर्ना भएकी थिइन् ।
यसैबीच, शनिबार बिहान काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति ग्रान्डी अस्पतालमा उपचाररत बिरामी भएको खुलेको छ ।
धापासीस्थित ग्रान्डी अस्पतालबाट अहिले उनलाई टेकुकाे शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालको आइसोलेसनमा लाने तयारी भइरहेकाे छ।
बिरामीमा कोरोना संक्रमण देखिएपछि ग्रान्डी अस्पताल सिल गर्ने तयारी गरिएको समाचार प्राप्त छ ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७