नेपालगन्ज । नेपालगन्जका पहिलो संक्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका ७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगन्ज–८ जोलाहनपुरका २१ जना कोरोना भाइरस मुक्त भएका हुन् ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकरले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो संक्रमितको तेस्रो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले बताए ।
थापाका अनुसार पहिलो संक्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो। अन्य २० जनाको भने दोस्रो पटक देखिकै रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना पराजित गरेका २१ जनालाई शुक्रबार स्वास्थ्य परामर्शपछि घर पठाउने तयारी अस्पताले गरेको छ।
सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना संक्रमितको उपचार भइरहेको छ। अन्य ४ जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
३ दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा २ पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो।
नेपालगन्जमा गत वैशाख १९ गते पहिलो संक्रमण पुष्टि भएको थियो। हाल बाँकेमा संक्रमितको संख्या १ सय १ पुगेको छ । बाँकेमा बिहीबार संक्रमण देखिएका २ जना पनि १ हप्ताअघि भारतबाट आएका थिए।
नेपालमा आएलगत्तै क्वारेन्टाइनमा रहेका खजुरा गाउँपालिका ३ का ४२ वर्षीया महिला र नरैनापुर गाउँपालिका ३ का ३२ वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको आरटिपिसिआर प्रयोगशालामा गरिएको स्वाब नमुना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
बिहीबार फेला परेका संक्रमित १ हप्ताअघि भारतबाट आएर गाउँकै क्वारेन्टाइनमा बस्दै आएका छन् । कोरोना संक्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा २ जनामा संक्रमण देखिएपछि खजुराक्षेत्रमा उच्च सतर्कता अपनाइएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । संकलित स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ ।
बाँकेमा बिहीबार विभिन्न स्थानबाट १ सय ५१ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७