काठमाडाैं । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।
सेनाले गरिद गरेको औषधिमध्ये झण्डै ४० टन हवाइजहाजमार्फत ल्याउने सम्झौता भएको थियो ।
सम्झौता अनुसार फ्ल्यास फ्रेट लजिस्टिक कम्पनीले मंगलबार औषधि तथा उपकरण ल्याएको हो । अर्को जहाज पनि छिट्टै चीन जाने तयारी रहेको सेनाले जनाएको छ ।
सेनाले जहाजमार्फत औषधि ढुवानीका लागि झण्डै ४ करोड रुपैयाँ र झण्डै ३ करोडमा स्थलमार्गबाट ढुवानीको सम्झौता गरेको थियो । स्थलमार्गमार्फत पनि पहिलो चरणमा १० कन्टेनर सामान नेपाल आइसकेको छ ।
नेपाली सेनाले १ करोड ८४ लाख ४१ हजार डलर अर्थात झण्डै २ अर्ब २५ करोड रुपैयाँको ३ सय ४२ टन औषधि र उपकरण ल्याउन चीनको चाइना सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग सम्झौता गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७