काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
आइतबार रौतहटमा १० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितकाे संख्या २ सय ९१ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि शनिबार बेलुका ३ जनामा संक्रमण पुष्टि भएकाे थियाे । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलासँगै धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियाे ।
यसैगरी नेपालमा काेराेना संक्रमणका कारण बिरामीकाे मृत्यु भएकाे पनि याे पहिलाे पटक हाे ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७