कपिलवस्तु । कपिलवस्तुमा ६ वर्षीया बालिकासहित सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै जिल्लामा कोरोना संक्रमित ३९ जना पुगेका छन्। संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर फर्किएका छन् । भारतका विभिन्न स्थानबाट फर्किएका ३२ संक्रमित भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।
यस्तै ६ जना दैनिक काममा धेरैसँग सम्पर्क रहेका व्यक्ति हुन् भने एक ६ वर्षकी बालिका हुन् ।
पछिल्लो पटक बाणगङ्गा नगरपालिका- ४ की ६ वर्षीयामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । बाणगङ्गामा पहिलो पटक बालिकामा कोरोना संक्रमण फेला परेको हो ।
बालिकाको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा उपचारका क्रममा संक्रमण भएको अनुमान गरिएको छ ।
यता बुधबार साँझ नयाँ ८ जनामा संक्रमण पुष्टि भएकामध्ये ४ जना सुरक्षाकर्मी छन्। प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका २ तथा राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका १-१ जनामा कोरोना देखिएको हो।
तीमध्ये १ प्रहरीका चालक छन् । चालक संक्रमित पुष्टिपछि उनले दैनिक चलाउने गरेको सवारी साधनमा सवार हुने अन्य प्रहरी कर्मचारीमा पनि आशंका बढेको छ ।
भेटिएका ८ संक्रमितमध्ये ३ जना नगरपालिकाको वडा नम्बर २ मा निर्मित महेन्द्र माविको क्वारेन्टाइनमा बसेका थिए।
तीमध्ये २ जना नगरपालिकाका कर्मचारी रहेको कृष्णनगर नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार विश्वकर्माले जानकारी दिए। १ जना नगरपालिकाका सरसफाइकर्मी हुन् ।
उनी क्वारेन्टाइनमा बस्दै आएका थिए भने अर्को १ जना पालिकाकै एक शाखा प्रमुख रहेको नगर प्रमुख रजतप्रताप शाहले जानकारी दिए ।
उनी यस बीचमा राहत वितरण र भारतबाट आएकाको उद्धारमा सक्रिय रहेको र पालिकामा आउने जाने गरेकाले संक्रमण धेरैका बीच फैलिन सक्ने शाहले आशंका गरे ।
कपिलवस्तुको कोरोना संक्रमित स्वास्थ्यकर्मी संक्रमणको नतिजा आउँदासम्म दैनिक कामकाजमा तौलिहवा अस्पतालमा कार्यरत थिइन् ।
उनले आफ्नै घरबाट आवतजावत गर्ने गरेकी थिइन् । उनलाई उपचारका लागि कपिलवस्तु अस्पतालको आइसोलेसनमा राखिएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७