काठमाडाैं । चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स विमानले नेपाली सेनाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।
चिनियाँ जनमुक्ति सेना(पीएलए)ले नेपाली सेनालाई सहायतस्वरुप दिएको स्वास्थ्य सामग्री लिएर चिनियाँ वायुसेनाको आईएल–७६ जहाज बुधबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले ४.५ टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, पिपिई, पञ्जा, बुट, थर्मलथनलगायत रहेका छन् ।
विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले चिनियाँ सेनाको जहाजले नेपाली सेनाका लागि स्वास्थ्य सामग्री ल्याएर फर्किएको जानकारी दिए ।
चीन सरकारले यसअघि पनि नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
अहिले चीनको बेइजिङ, ग्वान्जाओ, चाङ्सालगायत गन्तव्यबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालय एयरलाइन्सले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याइरहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७