काठमाडौं । भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएका एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला एक स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइएको छ ।
काठमाडौं उपत्यका बाहिर रहेका उनीहरु लकडाउनका बेलामा पूर्वी नाका हुँदै काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगा पार गर्दै भक्तपुर आएका थिए ।
संक्रमित सशस्त्र प्रहरी केही दिनअघि मात्रै रामेछापस्थित घरबाट फर्किएका थिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रामेछाप घर भएका सशस्त्र प्रहरी केही दिनअघि सिन्धुपाल्चोक हुँदै भक्तपुर, चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित कोठामा आएको पाइएको जानकारी दिइन् ।
रामेछाबाट आएपछि सशस्त्र प्रहरी अस्पतालमा स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको र नतिजा पोजेटिभ आएपछि उनको मंगबारदेखि टेकु अस्पतालको आइसोलेसनमा उपचार सुरु भएको प्रजिअ पाण्डेले बताइन् ।
महानगरीय प्रहरी परिसरसहितको टोलीले कोरोना संक्रमित सशस्त्र प्रहरी बसेको घरका परिवार एवं उनी सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने काम सुरु भएको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । परिवारका अन्यको पनि कोरोना परीक्षणको काम सुरु भएको छ ।
त्यसैगरी २५ वर्षीया कोरोना संक्रमित महिला सुनसरीबाट मोटरसाइकलमा पास बनाएर यही वैशाख २९ गते भक्तपुर आई मध्यपु्रथिमि शंखधर चोकमा बस्दै आएकी नर्स साथीको कोठामा गएर बसेको पाइएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
सुनसरी, रामधुनी नगरपालिका झुम्का स्थायी घर भई भक्तपुरको सल्लाघारीमा बस्दै आएकी उनी ललितपुरमा रहेको आरोग्य फाउन्डेसनको निदान अस्पतालमा कार्यरत छन् । उनी झुम्कामा ३ दिन बसेको तर त्यहाँ कहाँ कसलाई भेट्न गएको हो भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।
महिला सुनसरीबाट आउँदा नै संक्रमित भएर आएको हुन सक्ने अनुमान गरिएको छ । मोटरसाइकलको पास बनाएर आएकी संक्रमित महिलासँग आउने पुरुष सुनसरी नै फर्किएका छन् । उनीहरु बाटामा कहाँ कहाँ कोकोसँग सम्पर्कमा आए तथा मोटरसाइकल चालक को थिए भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमित पाइएपछि मंगलबारदेखि टेकु अस्पतालको आइसोलोसनमा भर्ना गराई उपचार सुरु भएको प्रजिअ पाण्डेले जानकारी दिइन् । उनी बसेको घरका मानिस र सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षण सुरु गरिएको छ ।
संक्रमित महिलासँगै बसेकी नर्स भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत रहेको खुलेको छ । उक्त अस्पतालमा आकस्मिक कक्षमा कार्यरत नर्सलाई बुधबारै भक्तपुर अस्पतालमा स्वाब संकलन गरी टेकु पठाइएको छ ।
उनलाई भक्तपुर अस्पतालकै आइसोलेसन वार्डमा राखिएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले नर्सलाई भक्तपुर अस्पतालमा स्वाब संकलन गरी आइसोलेननमा राखिएको पुष्टि गरिन् ।
मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्स यही वैशाख २६ गतेदेखि काममा नगएकाले अस्पतालमा संक्रमणको जोखिम नरहेको अनुमान गरिएको छ । बुधबार बिहान ११ः३० बजेसम्म मानव अंग प्रत्यारोपण केन्द्रमा राति काममा रहेका नर्सलाई अस्पताल बाहिर जान नदिएको र उनीहरुको कोरोना परीक्षण गर्ने या नगर्ने भन्ने बारेमा अन्योल भइरहेको अस्पताल प्रशासन शाखाले जनाएको छ ।
यसैबीच, कोरोना संक्रमित महिला बसेको शंखधर चोकस्थित बस्ती प्रहरीले सिल गरेको छ । प्रहरी उपरीक्षक प्रधानले करिब २० घर रहेको उक्त बस्तीलाई सिल गरेर नेपाल प्रहरीकै सुरक्षा गस्ती खटाइएको जानकारी दिए । सिल गरिएको बस्तीमा कसैलाई आउन र जान दिइएको छैन ।
त्यसैगरी संक्रमित सशस्त्र प्रहरी बस्दै आएको दुवाकोटको घरमा पनि सिल गरिएको छ । बस्तीभन्दा अलि पर रहेकाले १ घरलाई मात्रै सिल गरी सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको उनले जानकारी दिए । उनको परिवारको पनि स्वाब संकलन र परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७