काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट पर्सा, महोत्तरी, सर्लाही, धनुषा, भक्तपुर र काठमाडौंका थप २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार पर्सामा १८, महोत्तरी, धनुषा र भक्तपुरमा २–२, काठमाडौं र सर्लाहीमा १–१ गरी थप २६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित २६ जनामध्ये १७ जना पुरुष र ९ जना महिला रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१७ पुगेको छ। यसअघि ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि ५७ जनाको विवरण आउँदा पनि पर्साका मात्रै ३९ जना थिए । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७