काठमाडाैं । सरकारले कोरोना भाइरसका संक्रमित संख्याका आधारमा हटस्पटका रुपमा देखिएका उदयपुर, नेपालगन्ज र वीरगन्जमा थप नमुना सङ्कलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरेको छ।
कोरोनाको हटस्पटको रुपमा देखिएका क्षेत्र उदयपुरमा कम्तीमा ५ सय, वीरगन्ज र नेपालगन्ज कम्तीमा १-१ हजार जनाको नमुना संकलन गर्ने गरी टोली खटाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
सरकारले हालसम्म १४ हजार ५ सय ९ व्यक्तिमा रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परीक्षण गरेको छ। र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट ५४ हजार ९३ नमुना परीक्षण गरेको छ । गत २४ घण्टामा थप १ हजार ४ सय ५१ वटा परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या १७ हजार ३ सय ७२ छ। अहिलेसम्म आइसोलेसनमा १ सय ३३ जना छन् । तीमध्ये काठमाडौँ उपत्यकामा ३ जना छन् भने उपत्यका बाहिर १ सय ३० जना रहेका छन् । स्वमूल्याङ्नका लागि फारम भर्नेको सङ्ख्या ३३ हजार ५ सय २२ पुगेको छ। जसमा रेड जोनमा हालसम्म ३ सय ३५ जना रहेका छन् ।
हालसम्म कुल ९९ जना कोभिड–१९ बाट संक्रमित रहेका छन् । जसमा ७१ पुरुष र २८ जना महिला रहेका छन्। सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७