म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा एकैदिन डेंगुका २ जना बिरामी फेला परेका छन् । पछिल्लो ७ दिनयता जिल्लामा ५ जना डेंगुका बिरामी भेटिएका हुन् ।
बेनी नगरपालिका–७ मंगलाघाट र मंगला गाउँपालिका–१ भरजुलाका १–१ जनामा बुधबार डेंगु पोजेटिभ भेटिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । दुवै पुरुष बिरामीको बेनी अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।
मंगलाघाटका २८ वर्षीय पुरुष ४ दिनअघि तनहुँबाट आएका थिए । भरजुलाका बिरामी गाउँमै खेतबारीको काम र जङ्गलमा निहुरो टिप्न गएका थिए । यसअघि वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर भई बेनी–५ भिरमुनि बस्ने ३६ वर्षीया महिलामा डेंगु पोजेटिभ भेटिएको थियो ।
वैशाख ९ गते मंगला–५ अर्मनका १७ वर्षका पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेंगु भेटिएको थियो । माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेंगु भेटिएको थियो ।
यसअघि भेटिएका डेंगुका १ बिरामीको स्वास्थ्यमा अन्य समस्या देखिएकाले पोखरा सिफारिस गरिएको छ । अन्य निको भएर घर फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।
म्याग्दीमा डेंगुको महामारी फैलन सक्ने जोखिम देखिएकाले सतर्कता अपनाउनुपर्ने बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले बताए । गत वर्ष १३ डेंगु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए ।
बेनी बजारको गणेशटोल, मंगलाघाट, बसपार्क, पारीबेनी र भिरमुनिलाई डेंगुको जोखिमयुक्त क्षेत्र मानिएको थियो । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट गत वर्ष नेपालमा डेंगु सङ्क्रमितको ज्यानसमेत गएको थियो ।
पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेंगुको मुख्य लक्षण हुन् ।
टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रमहरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कन्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेंगु सार्ने लामखुट्टेले फुल पार्छ । डेंगु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७