काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउनुपर्ने बताएका छन् ।
आइतबार मन्त्रालयमा सेभ द चिल्ड्रेनले दिएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले यस्ताे बताएका हुन् । उनले भने, ‘अभावको समयमा विभिन्न संस्थाहरूले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको छ ।’
उनले प्राप्त भएका सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमणबाट रोक्न सहयोग पुग्ने बताए ।
उनले स्वास्थ्य सामग्री सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई धन्यवाद दिँदै सरकार र नेपाली जनताको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा जनाइरहेको ऐक्यवद्धताका लागि आभार प्रकट समेत गरे ।
मन्त्री ढकालले प्राप्त स्वास्थ्य सामाग्रीहरू पारदर्शी रूपमा वितरण गरिरहेको जानकारी दिदैँ कुन संस्थाले कति दिएको र कहाँकहाँ वितरण गरिएको भन्ने सबैले जानकारी लिन सक्ने बताए ।
सेभ द चिल्ड्रेनले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
इन्फ्रारेड थर्मोमिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिन लगायतका सामग्री उपलब्ध गराउँदै थप २ हजार पिपिई खरिद प्रक्रियामा रहेको सेभ द चिल्ड्रेनको अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले जानकारी दिइन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७