दमक । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि झापाको दमकमा हालसम्म ८४ जनाको कोरोना भए/नभएको पिसिआर परीक्षण गरिएको छ ।
४ दिनअघि दमक–३ का एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमित क्षेत्रमा थप संक्रमण फैलिने भएकाले त्यसको पहिचान गर्न हालसम्म ८४ जनाको पिसिआर परीक्षण गरिएको दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा खड्गलाल लिम्बूले बताए ।
नगरपालिकाले सोमबार कोरोना नियन्त्रण तथा रोकथामका क्षेत्रमा भइरहेको कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा लिम्बूले संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिकामार्फत भइरहेको कामका बारेमा जानकारी गराएका थिए ।
पिसिआर परीक्षण पहिलो चरणमा दमकका विभिन्न क्षेत्रका शंकास्पद ३० जनाको गरिएको र त्यसमा ती वृद्धमा संक्रमण पुष्टि भएको थियो । आइतबार मात्र संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका ५४ व्यक्तिको समेत आरडिटी परीक्षण तथा स्वाब संकलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको उनले बताए ।
पिसिआर परीक्षणको रिपोर्ट आजसम्ममा आउने उनको भनाइ छ । संक्रमित क्षेत्रमा डा लिम्बूको संयोजकत्वमा स्वास्थ्यकर्मी, प्राविधिकको छुटाछुट्टै ४ टोली परिचालित भएको थियो ।
उनका अनुसार संक्रमण रोकथाम गर्न हालसम्म नगरभित्रका १ सय ५७ जनाको समेत आरडिटी गरिएको छ । यसैगरी हालसम्म दमक अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा १३ जनाले सेवा पाउनुका साथै १ पुरुष र २ महिला गरी ३ हाल उपचाररत रहेको उनले बताए ।
त्यस्तै दमकका अन्य ३ क्वारेन्टाइनमा भने हाल ४१ जना छन् । ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७