काठमाडौं । बुधबार नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुर भुल्के क्षेत्रका २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका उनीहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।
यसअघि उदयपुरकै २४ जनामा काेराेना संक्रमण पाइएपछि उनीहरू कोसी अस्पतालमा उपचाररत छन् । यससहित उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २७ पुगेको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । हालसम्म नेपालमा ७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने मन्त्रालयले जनाएको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७