काठमाडौं । नेपाली सेनाले चिनियाँ सरकारी कम्पनीसँग २ अर्ब २५ करोड (१ करोड ८४ लाख ४१ हजार ७ सय अमेरिकी डलर) भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको छ ।
स्वास्थ्य सामग्री खरिदको समग्र प्रक्रियाबारे जानकारी दिन मंगलबार आयोजित भिडियो कन्फ्रेन्सका क्रममा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सिनो फर्म इन्टरनेसनलसँग खरिद सम्झौता भएको बताए ।
मन्त्रिपरिषदको निर्णयानुसार सेनाले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने व्यक्तिगत पीपीई, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य समग्री ३ सय ४० टन ल्याउने छ ।
जीटूजी विधिबाट हुने खरिद अनुसार सेनाले चीनसँग सम्झौता गरेको हो । सम्झौताअनुसार नेपालले खरिद गर्ने स्वास्थ्य सामग्रीहरु हवाई तथा स्थल दुवै मार्गबाट ल्याइने छ ।
सेनाले चीनसहित भारत, दक्षिण कोरिया, सिंगापुर, इजरायलसँग स्वास्थ्य सामग्री खरिदका लागि प्रस्ताव गरेको थियो । तर, अन्ततः चीन मात्रै नेपालले माग गरेअनुसारका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन तयार भएको हो ।
तर काेराेनाकाे उपचारमा प्रयाेग हुने केही औषधि भने भारतबाट पनि ल्याउने तयारी भइरहेकाे छ ।
ओम्नी विजनेस कर्पोरेसन इन्टरनेसनलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७