काठमाडाैं । उदयपुरको भुल्केस्थित १ मस्जिदमा रहेका १३ जना कोरोना भाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएपछि क्रस चेकका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
कोसी अस्पताल स्राेतका अनुसार उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा ११ भारतीय र २ नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
त्यसमध्ये ८ जनामा काेराेना पाेजेटिभ देखिएपछि धरानमा पुन: परीक्षणका लागि पठाइएको हो ।
यसअघि संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालकाे आइसाेलेसनमा उपचाररत छन् ।
नेपालमा हालसम्म ३१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने त्यसमध्ये ४ जना निकाे भइसकेका छन् । धरानमा गरिएकाे परीक्षणमा उदयपुरका ८ जनामा संक्रमण पुष्टि भए संक्रमितकाे संख्या ३९ पुग्ने छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७