चितवन । भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका २ नमुना शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको छ ।
बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २ जनाको नमुना शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
बुधबार र्यापिड डायग्नोस्टिक टेस्टका क्रममा एक महिलाको शंकास्पद नतिजा आएको थियो । उनी र उनका २ छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
उनीहरुमध्ये आमा र एउटा छोराको नमुना शंकास्पद आएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।
चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन् । उनीहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७