काठमाडाैं । नेपालमा अहिलेसम्म १५ हजार ८ सय जनाको कोरोना परीक्षण गरिएको सरकारले जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले बुधबार मिडिया ब्रिफिङका क्रममा स्वाबको पिसिआरबाट ६ हजार ८ सय ७१ जना र र्यापिड टेस्ट किटबाट ८ हजार ९ सय २९ जनाकाे परीक्षण गरिएकाे जानकारी दिए ।
पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ वटा परीक्षण गरिएको देवकोटाले जानकारी दिए । र्यापिड किटबाट गरिने परीक्षण अब १४ जिल्लामा विस्तार गर्न बाँकी रहेको उनले बताए । विभिन्न जिल्लामा र्यापिड टेस्ट गर्दा पोजेटिभ भेटिएकालाई पुनः पिसिआर विधिबाट परीक्षण गर्ने काम भइरहेको देवकोटाले जानकारी दिएका छन् ।
देशभर अहिले ५ हजार ६ सय १४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी आइसोलेसनमा १ सय १७ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
यसैगरी सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ सय ९८ जनाको र्यापिड टेस्ट गर्दा सबैको नतिजा नेगेटिभ आएको छ । सुरुमा पोजेटिभ देखिएका एक जनाको पुनः परीक्षण गर्दा नेगेटिभ आएको पनि उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७