काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका- ९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस परीक्षण सुरु भएको छ ।
बुधबार बिहान ९ बजेदेखि र्यापिड डाइग्नोसिस किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयको १५ जनाको टोलीले आरडीटी प्रविधिमार्फत परीक्षण गरिरहेको नगर प्रमुख थापाले बताए । नगर प्रमुख थापाका अनुसार बुधबार ब्लक ए का २ सय ४२ जनाको परीक्षण गर्न लागिएको हो । ३ वटा टेबुलबाट परीक्षण सुरु भएको प्रमुख थापाले जानकारी दिए ।
परीक्षण गर्न बाँकी रहेकाहरुको बिहीबार परीक्षण गरिने पनि थापाले बताए । गत चैत ८ गते सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले सहभागिता जनाएकाले अपार्टमेन्टमा रहेका सबैको परीक्षण थालिएको हो ।
सनसिटी अपार्टमेन्टमा रहेका ५ वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।
उक्त अपार्टमेन्टमा बस्ने एकै परिवारका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने सबैको कोरोना परीक्षण गर्न लागिएको हो ।
मंगलबार यहाँ बस्ने ८१ वर्षीया महिला र ५८ पुरुषमा कोरोना पुष्टि भएको थियो ।
सनसिटीमा अहिले आवतजावत पूर्णरुपमा रोकिएको छ । अपार्टमेन्टमा रहेका परिवारलाई खाद्य सामग्रीका लागि त्यहीँ लगिदिने गरी ग्रोसरीसँग मिलेर व्यवस्था गरिएको छ । ग्रोसरीले खानेकुराहरु प्याकेटमा ल्याएर गेटमा उपलब्ध गराउने छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७