काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से ४३.८९ अंकले घटेको छ । उक्त गिरावटसँगै नेप्से परिसूचक २ हजार ५१३ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३ अर्ब ६४ करोड रुपैयाँको कारोबार भयो । बजार खुलेदेखि नै रातो देखिएको बजारमा २१ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रह्यो ।
बुधबार गएको भीषण बाढीपछि बजारमा लगातार उच्च दबाबमा रहेका निर्जीवन बीमा, अन्य र जलविद्युत् समूहमा सोमबार पनि गिरावट जारी रह्यो । निर्जीवन बीमा समूह सर्वाधिक ५.०३ प्रतिशत घट्यो । अन्य समूह ३.३० प्रतिशत र जलविद्युत् समूह २.९४ प्रतिशतले घटेका छन् ।
बाढीका कारण एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना प्रभावित भएपछि जलविद्युत् कम्पनीमा दबाब परेको हो । त्यस्तै सवारीसाधन, घर तथा जलविद्युत् आयोजनाको बीमा दाबी भुक्तानी गर्नुपर्ने भएकाले निर्जीवन बीमा कम्पनीमा समेत नकारात्मक प्रभाव परेको छ । अन्य समूहमा नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स कम्पनीसमेत पर्छन् ।
अन्य समूहबाहेक बैंकिङ १.००, विकास बैंक ०.९६, फाइनान्स १.४१, होटल तथा पर्यटन २.४४, लगानी १.१९, जीवन बीमा १.९७, माइक्रोफाइनान्स १.१४ र व्यापार समूह १.११ प्रतिशतले घटेका छन् ।
उत्पादन तथा प्रशोधन समूह भने ०.७० प्रतिशतले बढेको छ । बाढीपछिको पुनर्निर्माणमा सिमेन्टको खपत बढ्ने अनुमानका कारण सिमेन्ट कम्पनीको सेयरमा सकारात्मक प्रभाव परेको हो ।
उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक १३.१६ प्रतिशत बढेको छ । त्यस्तै घोराही सिमेन्ट ७.५७, पाल्पा सिमेन्ट ४.०३ र एसवाई प्यानलको मूल्य ३.९१ प्रतिशतले बढेको छ ।
यता मैलुङखोला जलविद्युतको सेयर मूल्य १४.९८ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ११.७६, चिलिमे हाइड्रोपावरको १०.४९ र माण्डु हाइड्रोपावरको ९.३० प्रतिशतले घटेको छ ।
सोमबार धेरै कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट, सर्वोत्तम पेन्ट, रिलायन्स स्पिनिङ मिल्स, चिलिमे हाइड्रोपावर र एसवाई प्यानल अगाडि रहे ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३