कैलाली । कैलालीको लम्की चुहा नगरपालिका १ की ६५ वर्षीया १ महिलामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
वीरगन्जस्थित सीमा नामा खुद्रा व्यापार गर्दै आएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगन्जबाट चैत ९ गते घर आएकी उनी २९ गतेसम्म कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी थिइन् ।
१७ दिनमा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकाे छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । संक्रमितमध्ये १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकी १२ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७